अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

परिवारलक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न, उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। 

तस्वीर: रासस

काठमाडौँ– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसांख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै छ। 

दिवसको यस वर्षको नारा ‘दिगो विकासका लागि परिवारमुखी नीति’ रहेको छ। परिवार र परिवारलक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम  उपचारको अभावमा  ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ। 

सन् १९८० को दशकमा राष्ट्रसंघले परिवारसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्न थालेको थियो। सन् १९८३ मा आर्थिक तथा सामाजिक परिषद्को सिफारिसको आधारमा सामाजिक विकास आयोगले महासचिवसमक्ष विकास प्रक्रियामा परिवारको भूमिकासम्बन्धी प्रस्ताव प्रस्तुत गरेअनुरूप १९८५ मे २९ मा परिषद्ले महासभामा ‘विकास प्रक्रियामा परिवारहरू’ शीर्षकको विषयवस्तु समावेश गर्न अनुरोध गरेको थियो।

सामाजिक विकास आयोगको सिफारिसहरूको आधारमा १९८९ डिसेम्बर ९ मा महासभाले अन्तर्राष्ट्रिय परिवार वर्षको घोषणा गरेको थियो। अन्ततः सन् १९९३ मा महासभाले प्रत्येक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाउने घोषणा गरेको हो।

आगामी नोभेम्बरमा कतारमा दिगो विकाससम्बन्धी परिवारमुखी नीतिहरू: सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन आयोजना हुँदैछ। यो सम्मेलनले दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा प्राप्त गर्न परिवारको भूमिकालाई जोड दिने संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले २०१५ सेप्टेम्बर २५ मा ती लक्ष्य हासिल गर्न पारस्परिक सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।