मासिए ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा राजा भर्दिबम मल्लले निर्माण गर्न लगाएका चारवटा कुवा र अन्य ऐतिहासिक सम्पदा मासिएको स्थानीयले बताएका छन्।

गलेश्वर– विगत तीन दशकयता ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेरा मासिएका छन्। तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिबम मल्लले निर्माण गर्न लगाएका चारवटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू मासिएको स्थानीयले बताएका छन्।

स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० वटाभन्दा बढी कुवा र पँधेरा गाउँ–गाउँमा मोटरबाटो र विकास पूर्वाधार निर्माण गर्ने क्रममा मासिएको स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। “२०५० सालसम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ। बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्,” उनले भने। अहिले गाउँमा खानेपानीको संकट बढ्दै गएकोसमेत उनको भनाइ छ। “वर्षौँ पहिले निर्माण गरिएका कुवा र पँधेराको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो,” उनी भन्छन्, “खानेपानी कै हाहाकार हुने भयो।”

बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ। यहाँ पर्यटन प्रवर्धनका लागि मोटरबाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायत प्राचीन सम्पदा भने नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ। 

ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ। अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन्। पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ। 

बेनी नगरपालिका—२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउँछन्। कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुंगेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उनले चिन्ता व्यक्त गरे।