प्रधानमन्त्रीको दौडमा रहेका दाहाललाई ओलीले भने – निर्णय गर्न ढिलाइ गर्नुभयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको इच्छा गरिरहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले निर्णय लिन ढिलाइ गरेको बताएका छन्।

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रधानमन्त्री बन्ने सम्भावना लगभग समाप्त भएको बताएका छन्।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले भावी प्रधानमन्त्री बन्नका लागि अधिकतम प्रयास गरिरहेका दाहालको चाहना पूरा हुने सम्भावना अत्यन्त न्यून रहेको बताएका हुन्।

प्रधानमन्त्रीको इच्छा गरिरहेका दाहालले निर्णय लिन ढिलाइ गरेको उनले औँल्याए। "पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर, उहाँले मलाई लाग्छ– निर्णय गर्न ढिलो गर्नुभयो", उनले संस्कृतको एउटा भनाइको व्याख्या गर्दै भने,  "किनभने उहाँले समयमा कदम चाल्नु भएन।"

उनले अरूले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावनासमेत औँल्याए। "अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू-आफूलाई मात्रै हेरे भने देश फेरि घुमिफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदै छ। जाँदैन भन्न सकिँदैन। किनभने सरकार गठन नै हुन सकेको छैन", उनले भने।

अध्यक्ष ओलीले सत्तारूढ दलहरूबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको बताए। उनले एमालेलाई सुध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिरसमेत गरे।