यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा संकलक बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्।
म्याग्दी– म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ। धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं.–४ मुदी र रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दा यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन्। गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएका बताए। गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो। गुर्जामा रहेका २५० घरपरिवारमध्ये एक घरबाट कम्तीमा एक जना यार्सा खोज्न गएका वडा अध्यक्ष छन्त्यालले बताए।
रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समितिमार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीय यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताए।
चिमखोलाबाट करिब ५० स्थानीय बासिन्दा यार्सागुम्बा खोज्न बुकीमा गएका छन्। वैशाखको अन्तिम सातादेखि जेठको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन्। अनुकूल मौसम हुँदा दैनिक १०० गोटासम्म यार्सागुम्बा संकलन हुने र एक जनाले दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने बताइएको छ।
यार्सा संकलकहरू बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन्। संकलन भएको यार्सा स्थानीयस्तरमा प्रतिगोटा दुई सयदेखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए।
यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ। यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम शुरू गर्छन्। यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ।
यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन्। म्याग्दीमा केहि वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ। चालु आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए।
यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ। गत वर्ष आधा किलोग्राम यार्सागुम्बाको लागि छोडपुर्जी जारी भएको थियो। प्रतिकिलो यार्सागुम्बा निकासी गर्न १० हजार रुपैयाँ राजस्व तिर्नुपर्छ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोहीबमोजिमको संकलन पुर्जी काट्ने चलन छ। सर्वसाधारणबाट व्यवसायीले प्रतिकिलो पाँच लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो आठ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म रहेको जानकार बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
