संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सकियो सुनुवाइ, जेठ २८ गते ‘निसु’

संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तविरुद्धको मुद्दामा संवैधानिक इजलासले गत माघ ३० गतेबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको थियो।

काठमाडौँ– विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको मुद्दामाथिको सुनुवाइ बिहीबार सकिएको रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए।

इजलासले पक्षविपक्ष दुवैलाई जेठ १६ गतेभित्रमा बहस नोट पेश गर्न आदेश गरेको छ। बहस नोट पेश भइसकेपछि जेठ २८ गते निर्णय सुनाउने मिति पनि बिहीबार नै इजलासबाट तय भएको हो।

संवैधानिक इजलासले चार वर्षदेखि विचाराधीन यो मुद्दामा गतवर्ष माघ ३० गतेबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्दै आएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट संवैधानिक परिषद् काम कर्तव्य अधिकारसम्बन्धी ऐनमा संशोधन गरेर दुई चरणमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएका भएको भए पनि लामो समयसम्म सुनुवाइ नहुँदा आलोचना भइरहेको थियो।

तर, गत असोजमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएसँगै उनले यी मुद्दालाई प्राथमिकतामा राखेका थिए।

यो पनि – अन्तिम सुनुवाइतिर संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा, नियुक्ति बदर भए के होला?