आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार शुक्रबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दलले घटेको हो‍।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५७ रुपैयाँ तोकेको छ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायललाई तोकेर इन्धनको मूल्य निर्धारण गर्दै आएको छ। घटाइएको नयाँ खुद्रा बिक्री मूल्य डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीसम्म लागू हुने निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ८ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ८० पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।