भक्तपुरबाट लागुऔषध कारोबारमा संलग्न ८ जना पक्राउ

भक्तपुर प्रहरीले २४ घण्टाको अवधिमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका विभिन्न क्षेत्रबाट लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ।

भक्तपुर– भक्तपुरका अवैध लागुऔषध कारोबारी र सेवनकर्ता बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी परिसर, भक्तपुरले लागुऔषध नियन्त्रण अभियान शुरू गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ।

विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरूले कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

उनले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिए। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानले पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा रहेका छन्। 

प्रहरीले उनीहरू बस्दै आएको कोठामा छापामारी लागुऔषध ट्रमेनिल ४५१ थान, निटजिकेयर एक हजार १९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्यण्ड नामको लागुऔषध ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई थान मोबाइल र नगद सात हजार रुपैयाँ बरामद गरेको प्रनाउ नेउपानेले जानकारी दिए।

त्यसैगरी प्रहरीले मध्यपुरथिमि–९ बोडे बस्दै आएका खोटाङको ऐँसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भन्ने सम्राट् राई र सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामालाई पनि पक्राउ गरेको छ।

उनीहरूलाई मध्यपुरथिमिको बोडे बस्ने स्वदेश राईको कोठाबाट पक्राउ गरिएको जानकारी दिँदै प्रहरीले उनीहरूको साथबाट लागुऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोलाण्ड ४६६ थान, नगद पाँच हजार रुपैयाँ र मोबाइल तीन थान बरामद गरेको उनले बताए। प्रहरीले शुक्रबार उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको उनले बताए। 

त्यस्तै, सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बालकोट डेरा गरी बस्ने ३७ वर्षीय हरिनाथ कोइरालालाई उनकै डेरा कोठाबाट एक ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी गराए। लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए।