पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले गोरखाको छेपेटारमा नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको छ।
गोरखा– गोरखा नगरपालिका–१० छेपेटारमा भेटिएको भग्नावशेष सत्रौँ शताब्दी हुन सक्ने पुरातत्त्व विभागले अनुमान गरेको छ। पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्त्विक संरचनाको भग्नावशेष फेला परेको थियो। काम रोकेर समितिले पुरातत्त्व विभागलाई खबर गरेको थियो। त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो। अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ।
“हामीले नौ दिन लगाएर उत्खनन गर्यौँ,” विभागका अधिकृत अधिकारीले भने, “यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुंगा, जगको ढुंगा, ठाउँ–ठाउँमा नासिएको, ठाउँ–ठाउँमा बचेको भेटियो। तामाको दियो, सिक्का पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन्। इँटा, ढुंगा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ।” यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनले बताए।
सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए। “गत वर्ष पनि यहाँ एक्स्काभेटर लगाएर जग्गा सम्म्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ। त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ,” अधिकारीले भने, “अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर अझै सकिएको छैन। अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ।”
उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ। “जग हेर्दा इँटा, ढुंगाबाट निर्माण भएको र झिँगटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ,” उनले भने।
विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिए। “दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ। यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ,” उनले भने।
हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए। तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
