तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार, ४ जना घाइते

प्रतिनिधि छनोटका विषयमा तरुण दलका दुई समूहबीच विवाद भएको थियो। सोही क्रममा उनीहरूमाथि खुकुरी प्रहार भएको हो। 

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते भएका छन्।

बेँसीशहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको हो। 

घाइते हुनेमा बेँसीशहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला सदस्य किशोरजङ बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले छन्। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराका अनुसार घाइतेमध्ये खुसीजङ र सुदीपलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ। प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरूमाथि खुकुरी प्रहार भएको हो। 

दुई समूहबीच झडप हुँदा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ। पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा विवाद भएको थियो।