पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागका हुरीबतासको पनि सम्भावना छ।

त्यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातसमेत हुनेछ।

तराईमा राति पनि हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।