साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
फुङलिङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।
हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजंघा हिमाल आरोहण गरेका छन्। बेलायत, इरान, कोसोभोका नागरिक र एक नेपाली शेर्पाले आरोहण गरेका हुन्। इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजंघा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन्।
कञ्चनजंघा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकको आकर्षण बढ्दो छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्यान्ड्सका गरी ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन्। उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ। घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म ३६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन्।
यसरी कञ्चनजंघा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ। तर आन्तरिक पर्यटकको विस्तृत तथ्यांक भने सूचीकृत छैन। कञ्चनजंघा हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन्। एउटा उत्तरी आधार शिविर, पाङपेमा। अर्को दक्षिणी आधार शिविर, ओक्ताङ।
कञ्चनजंघाको पाङपेमा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ। घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित पाङपेमा पुग्न सकिन्छ, जुन कञ्चनजंघा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो। घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ।
दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङलिङ बजारबाट सवारीसाधनमार्फत झन्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ। त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको ओक्ताङ पुगिन्छ, जुन कञ्चनजंघाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो। यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
