रुस–युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग वार्ता गर्ने ट्रम्पको घोषणा

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्। 

यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो। ३० दिनसम्म बिनाशर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए। 

यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो। दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेका थिए। 

शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिक बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका थिए। आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए।

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिएका छन्। (रासस/एएफपी)