२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।

काठमाडौँ– नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण जेठ २ देखि शुरू भएको थियो।

सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ।‍

आफ्नो देशविशेष अनुकूलन आवश्यकता पूरा गर्न राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ।

संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेको छ।

पर्वतीय क्षेत्रमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोत परिचालन गर्न पर्वतीय देशको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजुदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ।

दिगो जलवायु कार्यलाई बढवा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ।

संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवर्द्धन गर्ने महत्त्वलाई स्वीकार गर्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ।

जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।

“क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौँ। विकासशील देशको आवश्यकता अनुरूप तथ्यांक प्रणालीलाई सुदृढ गर्ने, तथ्यांक साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्र विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौँ” सगरमाथा कार्य आह्वानका उल्लेख छ।

बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यलाई बढवा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैंगिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ।

पर्वतीय समुदायको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियामा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तर्राष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ।

आह्वानमा भनिएको छ, “स्थानीय र आदिवासी समुदायको जलवायु नीति, कार्यक्रम र कार्यमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौँ। वातावरणीय सेवाको भुक्तानीका लागि संयन्त्र विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ।”

ज्ञान केन्द्र विकास, उत्कृष्ट अभ्यास साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यमा स्थानीय समुदायको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ। संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुन्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ।