रसुवागढी नाकाबाट ११ करोड मूल्य बराबरको सुनसहित ट्रकचालक पक्राउ

२०७२ मंसिरयता रसुवागढी नाकाबाट साढे ६५ किलो सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

रसुवा– चीनबाट अवैध तरिकाले लुकाइछिपाइ नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आइतबार बरामद गरेको छ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नम्बरको स्याउ बोकेको ट्रकमा लुकाइछिपाइ ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो। 

ट्रकचालक गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति भएको बताइएको छ। सुनसहित पक्राउ परेका भुजेललाई कानूनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए। 

विसं २०७२ मंसिरयता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।