हुम्लाको तिलगाउँमा पहिरो, १८ घरपरिवारलाई सारियो सुरक्षित स्थानमा

पहिरोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार उच्च जोखिममा परेका छन्।

काठमाडौँ– हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार पहिरोका कारण उच्च जोखिममा परेका छन्। बिहीबार राति गाउँमाथिबाट लेदोसहितको पहिरो आउँदा १८ घरपरिवार उच्च जोखिममा परेका हुन्।

उच्च जोखिममा रहेका १८ घरधुरीका ३२ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। सशस्त्र प्रहरीले बलले उनीहरूलाई खुल्ला स्थानमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार गाउँभन्दा माथि रहेको ताल फुटेर पहिरो आएको आशंका गरिएको छ। त्यसको अवलोकनका लागि स्थानीय गएको तर विवरण आइनसकेको उनको भनाइ छ।

पहिरोले तिल्चुङ खोलामा हालिएका पाँच वटा काठका पुल, बाटोसमेत बगाएको छ भने केही स्थानीयको घर तथा जलविद्युत्का संरचनामा समेत क्षति पुगेको छ। सुरक्षाकर्मीको टोली पुगेर क्षतिको विवरण संकलनको काम भइरहेको छ।