प्रजिअ पाण्डेयले भने 'अब फेरि बाढी आउँछ कि आउँदैन भन्नेबारे सबैलाई चासो र चिन्ता छ। त्यसबारे थप अध्ययन गरेर आश्वस्त पार्न हामी गृहमन्त्रालयसँग निरन्तर छलफलमा छाैँ'
काठमाडौँ– हुम्लाको नाम्खा गाउँपालिका–६ तीलगाउँमा यही जेठ १ गते आएको बाढीपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाढीले मानवीय क्षति नभए पनि तीलगाउँ जोखिममा छ। खोलाले गाउँपट्टीको भाग कटान गरेको छ।उनले भने, “१९ घरधुरीका ३३ जना स्थानीय अहिले त्रिपाल टाँगेर सुरक्षित स्थानमा बसिरहेका छन्। बाढीले पाइप र ट्यांकी नै बगाएकाले गाउँमा खानेपानीको अभाव भएको छ।”

यस्तै, बाढीले हिल्सा नाका पुग्ने मुख्य सडक अवरुद्ध भएको छ। तिल्चुङ भन्ने ठाउँमा बाटो नै बगाएको र सानातिना पाँचओटा काठेपुल भत्काएको छ। साथै, सिँचाइको कुलो पनि भत्केको र एक करोडभन्दा धेरै योजनाको निर्माणाधीन जलविद्युत् गृह पनि पूर्णतया क्षतिग्रस्त बनेको वडाध्यक्ष तामाङले बताए।
गाउँ छेउकै खोलामा एक गते राति १० बजेतिर गड्याङगुडुङको आवाज आएपछि स्थानीय ब्युँझिएका थिए। पानी पनि नपरेको र हिमपात पनि नभएको अवस्थामा कसरी बाढी आयो भन्नेमा अन्यौल थियो। “अर्को दिन त्यही खोलालाई पछ्याउँदै जाँदा करिब ८ घण्टा लाग्ने थाक्रे क्षेत्रमा रहेका दुई वटा ताल फुटेर बाढी आएको थाहा भयो,” वडाध्यक्ष तामाङले भने। फेरि बाढी आए खोला गाउँमै पस्छ कि भन्ने स्थानीमा चिन्ता रहेको उनले सुनाए।

घटनापछि हिल्सा नाकामा रहेको प्रहरी टोली तीलगाउँमा पुगेको थियो। प्रहरी र स्थानीय गरी पाँच जनाको टोली गएर हिमताल फुटेको भन्ने कुरा जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय, हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

ताल फुटेको ठाउँ अत्यधिक उचाइमा रहेको र त्यहाँ पुग्नका लागि विभिन्न स्वास्थ्य समस्या देखिने हुँदा थप समस्या भएको उनको भनाइ छ। उनका अनुसार स्थानीयहरूमा अझै बाढी आउँछ कि भन्ने डर कायमै छ।
“अब फेरि बाढी आउँछ कि आउँदैन भन्नेबारे सबैलाई चासो र चिन्ता छ। त्यसबारे आश्वस्त गर्न हामी गृहमन्त्रालयसँग समन्वय गरिरहेका छाैँ। भूगर्भविद् वा विपद् टोलीलाई त्यहाँ पुर्याएर थप अध्ययन गर्नुपर्ने हुनसक्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
