पहिरोका कारण जोखिममा रहेका तिलगाउँका बासिन्दाको उद्धार गर्न ध्यानाकर्षण

सांसदले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। 

१८ परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको उनले सदनलाई जानकारी गराए। 

“पहिरोपीडितहरू असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्”, सांसद लामाले भने, “उनीहरूको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउँछु।”

तिलगाउँमा जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन्। सांसद लामाले हिमाल नजिकका बस्तीहरू प्राकृतिक प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।