सुनिल पौडेलसहित ५ जनाविरुद्ध ५ करोड ७९ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसअघि नेसनल पेमेन्ट गेटवे अनियमितता प्रकरणमा पौडेल विशेष अदालतबाट दोषी ठहर भएका थिए।

आयोगले सोमबार पौडेल, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर अपरेटर रामशरण गायक, तत्कालीन लेखा अधिकृत नीमबहादुर वली, म्याक्स इन्टरनेसनल प्रालि र कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूविरुद्ध पाँच करोड ७९ लाख रुपैयाँ बराबर बिगो, कैद र जरिबानाको सजाय माग दाबी लिएर सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेले जानकारी दिए।

उनीहरूले आर्थिक वर्ष २०७५/७६ मा केन्द्रबाट उपकरण खरिदमा आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरीको अनुसन्धान क्रममा सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियतले पाँच करोड ७९ लाख रुपैयाँ भ्रष्टाचार गरेको भेटिएको आयोगको दाबी छ।

केन्द्रले र म्याक्स इन्टरनेसनलबीच मिलेमतोमा स्वार्थ बाझिने गरी लागत अनुमान तयार गरेको, सम्झौताबमोजिम कार्य नै नभएको अवस्थामा समेत कार्य भएको भनी रकम भुक्तानी दिए/लिएको तथ्य भेटिएको आयोगको ठहर छ।