तिलगाउँका पहिरोपीडितलाई तत्काल राहतका लागि पहल गरिने

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तिलगाउँमा पहिरो जानुको कारणबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय भएको पनि बताए।

काठमाडौँ– सरकारले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गर्ने भएको छ।

सोमबार गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्ययन टोली गठन गर्ने निर्णय भएको जानकारी दिए।

“हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन छैन। भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान छ। तर के भएको हो? भन्ने विस्तृत अध्ययन गरिने आजको निर्णय छ,” उनले भने, “यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा छन्। जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्यांकन गर्ने निर्णय भएको छ।”

जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फाट्ने खतरा बढिहरेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसूचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिए। 

“हुम्लाको घटनामा अहिले हिमताल विस्फोट भएको हो या होइन भन्ने राम्रोसँग तथ्य बाहिर नआउन्जेल केही भन्न मिल्दैन, तर हिमताल फुट्ने जोखिम हिमाली भेगमा बढ्दो छ । सतर्कता र पूर्वतयारीमा जोड दिनुपर्छ,” उनले भने।