नदीमा पानीको प्रवाहसँगै घट्यो विद्युत् उत्पादन

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।

तनहुँ– नदीमा पानीको प्रवाह बढ्न नसक्दा आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन। ६९ मेगावाट क्षमताको यस जलविद्युत् केन्द्रबाट हाल ४२ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ।

हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।

“हाल ५० देखि ५५ मेगावाट उत्पादन हुनुपर्नेमा नदीमा पानीको प्रवाह कम भएकाले उत्पादनमा वृद्धि हुन सकेको छैन,” गौतमले भने, “यसपटक पानी कम परेकाले विद्युत् उत्पादन प्रभावित भएको छ।”

केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन छन्। यो केन्द्र सन् १९८९ मा निर्माण भएको हो। यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुँदै आएको छ।