चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको छ।
झापा– नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९०८ जना चट्याङ लागेर घाइते भएका छन्।
देशका सबै भूभाग चट्याङबाट प्रभावित भएको प्राधिकरणको तथ्यांक छ। प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठ झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको बढी जोखिममा रहेको बताइन्।
उनकाअनुसार २०७८ साउन १ देखि २०८२ जेठ ५ सम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन्। एक हजार ६०७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा रहेको उनले उल्लेख गरिन्।
“घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन्। बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन्। चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्,” उनले भनिन्।
विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना हुँदा ३६६ घर यसबाट प्रभावित बनेका छन्। यसबाट ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्। कोशीमा चट्याङका कारण १ करोड ६० लाख ४५ हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको छ भने ४२० वटा चौपाया मरेका छन्।
प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा १८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ। ३ करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ। लुम्बिनीमा २७६ परिवार चट्याङबाट प्रभावित, १६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेको तथ्यांक छ।
यस्तै, सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन्। कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेशमा २८ जना घाइते भएका छन्।
नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिए। चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनको भनाइ छ।
सहप्राध्यापक सिग्देलका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ। हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले उल्लेख गरे।
चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ। सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताए।
“विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव हो,” उनले भने, “हामीले गरेको सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाएका छौँ। त्यस्तो क्षतिलाई रोक्न सकिन्छ।”
मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको अध्ययनले देखाएको जनाउँदै उनले सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईबस्तु चराउने कार्य हुने गरेकाले बढी मानवीय क्षति भएको बताए। त्यस्ता कामहरू मध्याह्नअगावै गरिसक्ने र मेघगर्जन भएका बेला खुला स्थानमा नजाने हो भने मानवीय क्षति स्वतः न्यूनीकरण हुने उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन्। ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिन्छ। उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने सिग्देल बताउँछन्।
घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिन्छ। स्रोतसाधनमा सक्षम रहेका स्थानीय तहले चट्याङबाट जोगिने उपायबारे वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउनुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
