‘घर चलाउने महिलाले देश चलाउँछन्’

अनुपम अभियानले २०८४ सालको चुनावमा बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउन प्रोत्साहन र दलहरूलाई दबाब सिर्जना गरिरहेको छ। जुनसुकै दलका महिलालाई पनि चुनाव जिताउन सघाउने अभियानको लक्ष्य छ।

काठमाडौँ– “घर चलाउने महिलाले देश चलाउँछन्।”

यी र यस्तै नारासहित गत मार्चमा देशैभरबाट प्रतिनिधित्व हुनेगरी नवलपुरमा महिलाहरू भेला भए। त्यहाँ पञ्चेबाजाको आवाज गुन्जियो। महिलाहरू दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंहालगायत बाजा बजाएर आफ्नै लय र तालमा नाचिरहेका थिए।

उनीहरूको हातमा प्लाकार्डहरू पनि थिए। जसमा लेखिएको थियो, ‘०८४ मा महिला हुनुपर्छ पहिला...’

महिलाहरूको उत्साह र भिड हेर्दा लाग्थ्यो उनीहरू कुनै उत्सव मनाइरहेका छन्। खासमा ‘अनुपम अभियान’को एउटा चरण पूरा गरेर उनीहरू अर्को चरणको तयारीका लागि भेला भएका थिए।

स्थानीय, प्रदेश र संघीय शासन प्रणालीको निर्णय लिने ठाउँमा महिलाहरूको समान सहभागिताका लागि अन्तरपुस्ता महिला संगठनले थालेको पाँच वर्षे आन्दोलन हो अनुपम अभियान। यसले आगामी निर्वाचनमा महिलाको सहभागिता बढाउने र योग्य महिलालाई निर्वाचित गराउने उद्देश्य राखेको छ।

यही अभियानअन्तर्गत अघिल्लो वर्ष विभिन्न ठाउँमा यात्रा गरेर महिलाहरूलाई जागरुक गराए। यात्राको वर्ष समापन गर्न नवलपुरमा विभिन्न ठाउँबाट महिलाहरू उत्सवका लागि आएका थिए।

उक्त भेलामा ७७ जिल्लाकै प्रतिनिधि आएर नाचगान र छलफल गर्दै, सिक्दै सिकाउँदै एकअर्कामा उत्साह भरेका थिए। कार्यक्रममा विभिन्न दलका नेताहरूको पनि उपस्थिति थियो। महिलामा देखिएको राजनीतिक जागरुकतालाई गाउँ—गाउँमा पुर्‍याउने उनीहरूले बताएका छन्।

नेपालगन्जकी मैमुना सिद्दिकी पनि भेलामा सहभागी थिइन्। उनी मुस्लिम, मधेशी तथा सीमातकृत समुदायका लागि काम गर्छिन्। महिलाहरू राजनीतिक, शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा पछाडि भएकाले सबै क्षेत्रमा अगाडि ल्याउन यो आन्दोलनमा आफू जोडिएको उनी बताउँछिन्। मैमुना भन्छिन्, “महिलाहरू राजनीतिक नेतृत्वमा एकदमै कम छन्। त्यसमा पनि मुस्लिम महिला त छैनन् भन्दा पनि हुन्छ। त्यसैले उनीहरूलाई नेतृत्वमा ल्याउन जुटेका हौँ।”

दलहरूले अहिले पनि महिलालाई प्रत्यक्ष निर्वाचनमा लड्न नदिने गरेको उनले गुनासो गरिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तथ्यांकले पनि यसलाई प्रमाणित गर्छ। प्रतिनिधिसभामा २७५ सांसदमध्ये पुरुष १८३ र महिला ९२ जना छन्। प्रत्यक्ष निर्वाचित महिला ९ जना मात्रै छन्। 

स्थानीय तहको नेतृत्वमा पनि महिलाको संख्या न्यून छ। ७५३ पालिकामध्ये २५ वटा स्थानीय तहका प्रमुख मात्र महिला छन्, बाँकी ७२८ वटामा पुरुष छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर महिलाहरूको सहभागिता खुम्च्याइएको मैमुना बताउँछिन्।

दलहरूको यस्तै गतिविधिविरुद्ध लड्न पनि अहिलेको आन्दोलन जरुरी भएको उनले बताइन्। “महिला पहिला अझै पनि सम्भव छैन। किनकि, हरेक पार्टीमा पुरुषकै कमान्ड छ,” उनी भन्छिन्, “उनीहरूले नै हो निर्वाचनमा टिकट दिने। स्थानीय तहको निर्वाचनमा पनि दलहरूले गठबन्धन गरेर धेरैजसो ठाउँमा दुवै पदमा पुरुषलाई जिताए।”

अझ मुस्लिम समुदायका महिला निर्वाचनमा विजयी हुन मुस्किल भएको मैमुन बताउँछिन्। आगामी निर्वाचनमा मुस्लिम महिलाहरूको सहभागिता बढाउन यो अभियानले सहयोग गर्ने उनको विश्वास छ।

रुपन्देहीको सैनामैना नगरपालिकाकी पार्वती न्यौपाने शारीरिक रूपले अशक्त छिन्। उनी यो अभियानमा शुरूदेखि नै सहभागी छिन्। अहिले महिला अधिकारका लागि हस्ताक्षर अभियान चलाएर गाउँ डुलिरहेकी छन्।

हस्ताक्षर संकलन गरेर हरेक पार्टीका कार्यालयमा बुझाई दबाब दिने उनीहरूको योजना छ। पार्वती भन्छिन्, “यात्रैयात्राको वर्ष सकेर हामी हस्ताक्षर अभियानमा छौँ। संविधानमा महिलाका अधिकारका कुरा लेखिएको छ, त्यसलाई लागू गर्न हस्ताक्षर संकलन गरिएको हो।”

दोस्रो चरणमा अनुपम अभियानले महिलाहरूलाई राजनीतिसम्बन्धी जानकारी र तालिम पनि दिइरहेका छन्। उनीहरू हरेक आइतबार जुम मिटिङ राख्छन्, विभिन्न विषयमा छलफल गर्छन्। अहिले राजनीतिक खबरदारीको वर्ष भएर राजनीतिसम्बन्धी विश्लेषक र जानकारलाई ल्याएर कार्यक्रम गरिरहेका छन्।

त्यसबाहेक एक–अर्कासँग संविधान र राजनीतिका विषयमा छलफल पनि गरिरहेका छन्। यस्तै छलफलबाट आदिवासी, जनजाति महिलाहरूमा राजनीतिक चेतना वृद्धि गर्ने उनीहरूको लक्ष्य छ। 

महिला अधिकारकर्मी रिता थापा भन्छिन्, “हरेक दलका राजनीतिक विचार, घोषणपत्र, समावेशीतालगायत विषयमा कुरा गरिरहेका छौँ। यसबाट अभियानमा जोडिनुभएका दिदीबहिनीको सचेतना बढाइरहेका छौँ।”

२०८४ सालसम्म के गर्छ अभियानले?
पहिलो वर्ष बसयात्रा गरेको अनुपम अभियानको दोस्रो वर्ष देशैभर पैदलयात्रा गरेको छ। गत मार्चदेखि अर्को मार्चसम्म राजनीतिक खबरदारीको वर्ष चलिरहेको अभियानले जनाएको छ। अबको करिब चार महिना सबै जिल्लामा महिलाका अधिकारबारे हस्ताक्षर संकलन गरेर सबै दललाई बुझाउने योजना छ।

वर्ष २०८३ मा कोणसभाहरू गरेर सबै महिलालाई एक हुन आह्वान गर्ने उनीहरूको योजना छ। अभियानको अन्तिम वर्ष चुनावमा महिलालाई प्रोत्साहन तथा सहयोग गर्ने अभियानले जनाएको छ। उनीहरूले जुनसुकै दलका महिलालाई पनि निर्वाचनमा जिताउन प्रोत्साहन गर्नेछन्।

अभियानले महिलाहरूलाई उम्मेदवारी दिन मात्रै नभएर आवश्यक आर्थिक सहायतासमेत गर्ने अभियन्ता थापा बताउँछिन्। उनी भन्छिन्, “हामीले सबै दलका महिलालाई आन्दोलनमा जोडिन खुला राखेका छौँ। यो कुनै एउटा दलको अभियान होइन, सबै महिलाको आन्दोलन हो।”

अनुपम अभियानमा जोडिने महिलालाई अझै शिक्षित र प्रोत्साहित गरेर नेतृत्व तहमा पुर्‍याउने लक्ष्य रहेको थापा बताउँछिन्। “हाम्रो अहिलेको लक्ष्य भनेकै २०८४ को चुनावमा धेरै महिलालाई जिताएर नेतृत्वमा पुर्‍याउने हो। भनेजस्तो त नहुनसक्छ, तर अभियान छाड्दैनौँ,” उनी भन्छिन्, “संविधानले दिएको अधिकार नपाएसम्म हामी अगाडि बढिरहन्छौँ।”