हुम्ला पहिरो: तत्काल राहत र उद्धारका लागि सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा उद्धार गर्नका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

काठमाडौँ– सांसदहरूले हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा राहत र उद्धारमा ढिलासुस्ती भइरहेको भन्दै समयमा नै राहत तथा उद्धार गर्नका लागि उनीहरूले ध्यानाकर्षण गराएका हुन्। 

सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिराका कारण पीडित भएका जनतालाई अहिलेसम्म उद्धार नगरिएको भन्दै चाँडोभन्दा चाँडो उद्धार गर्नका लागि आग्रह गरे। “पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुंगो छैन। मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू बेलामा हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्,” उनले भने। 

सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरिन्। सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा बन्दै गरेको दोस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ढिला गर्न नहुने बताए। 

सांसद सीताकुमारी रानाले तीन दिन वर्षाको सम्भावना रहेकाले यसबाट हुने क्षतिबाट बच्न सर्वसाधारणलाई आग्रह गर्दै पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आग्रह गरिन्। सांसद सीता मिजारले सरकारी प्रणालीलाई विद्युतीकरण गर्न जरुरी रहेको बताइन्। 

सांसद सुनिता बरालले नेपालको आर्थिक विकासमा सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। सांसद सुमना श्रेष्ठले मिटरब्याजपीडितलाई समयमा नै न्याय दिनुपर्ने र पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्। 

सांसद सुशीला सिर्पाली ठकुरीले विदेश जाने संख्या बढिरहेको भन्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। सांसद सुशीला श्रेष्ठले सबै सुशासन कायम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनका लागि सुझाव दिइन्। सांसद सुहाङ नेम्वाङले योजना बनाउनुभन्दा पनि योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। 

सूर्यप्रसाद ढकालले विद्युत् प्राधिकरणको घाटाबारे यथार्थ सदनमा प्रस्तुत गर्नका लागि आग्रह गरे। सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा भत्किएको पुल निर्माण हुन नसक्दा वर्षाको समयमा एम्बुलेन्ससम्म आवतजावत गर्न असहज हुने भन्दै समयमा नै निर्माण अगाडि बढाउन सरकारलाई आग्रह गरे। 

सांसद हरि ढकालले राप्ती नगरपालिकामा बेथितिले सीमा नाघेको आरोप लगाउँदै नौ महिनामा चारजना अधिकृत परिवर्तन भई अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको भन्दै तत्काल पठाउन माग गरे।