नेप्से परिसूचक ४९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक १.८६ प्रतिशतले बढेको हो।

नेप्सेका अनुसार यस दिन परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ। तर कारोबार रकम भने सामान्य घटेको छ।

यस दिनको कारोबारमा विभिन्न ३१० कम्पनीका एक करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर सात अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ३.४२ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ १.९१, विकास बैंक २.९५, वित्त २.४४, जलविद्युत् २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूहको उपसूचक १.४९ प्रतिशतले बढेको छ।

यस दिन सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, ओम मञ्जुश्री फार्मास्युटिकल ९.९९, ग्रिन डेभलपमेन्ट बैंक र राप्ति हाइड्रो एन्ड ग्रिन कन्स्ट्रक्सनको शेयर मूल्य ९.९७ प्रतिशतले उकालो लागेको छ। विन नेपाल लघुवित्तको शेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ।

यस दिन सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ।