सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
काठमाडौँ– काठमाडौँ उपत्यकाभित्रका बागमती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन।
नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका धरोहरको जगेर्ना गर्न विसं २०५१ चैत २८ गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो। सरकारले यस्तो संरचना बनाएको तीन दशक बढी भए पनि बागमती किनारमा ढल मिसाउने कार्य भने रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
समितिको अधिकार एवं कार्यक्षेत्र सीमित भएको भन्दै एक वर्ष पनि नपुग्दै विसं २०५२ मंसिर ६ गते अधिकार सम्पन्न बागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका रूपमा यसको क्षेत्र विस्तार गरिएको थियो। गठन भएको १६ वर्षपछि २०६५ जेठ २६ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति भनी यसको नाममा परिवर्तन गरियो।
समितिले बागमती नदीको किनारामा बहावक्षेत्र कायम हुने गरी पूर्वाधार निर्माणका कामजस्तै ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा सञ्चालन गर्दै जाने उद्देश्य रहेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताए। सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सरोकारवालामा नदीको बढ्दो प्रदूषणप्रति चासो र चिन्ता जगाउनु पनि समितिको उद्देश्य रहेको उनले सुनाए।
हिन्दुको पवित्र तीर्थस्थल एवं सभ्यताको प्रतीकको रूपमा रहेको बागमती नदी पछिल्लो चार दशकयता मानवीय अतिक्रमणको कारणले प्रदूषणको चपेटामा परेको छ। मुलुकको अमूल्य निधिको अस्तित्व नै संकटमा परेपछि सचेत नागरिक समाजको चर्को दबाबका साथै सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ नदी प्रदूषणमुक्त गर्ने कार्यको थालनी गर्नु नै वर्तमान समितिको अस्तित्वको आधारशिला हो भन्छन् सूचना अधिकारी नेपाल।
राजधानीको बढ्दो जनसंख्या, अनियन्त्रित शहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगिक एवं अन्य फोहोरमैला निष्कासनको सम्पूर्ण विकृति बेहोर्न बाध्य बनाइएको बागमती नदीको शुद्धीकरणका लागि समिति बनेको तीन दशक पूरा भए पनि अझै लक्ष्य भने नभेटिएको बताउँछन् काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी। महानगरपालिकाले नदी स्वच्च बनाउन सहयोग गर्न खोजे पनि सम्बन्धित निकायले भने कम चासो दिने गरेको उनको भनाइ छ।
समितिको नाम परिवर्तनसँगै कार्यक्षेत्र पनि बागमती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई स्वच्छ र सफा राख्न काम गर्ने भनी थपिएको पनि दशकौँ भइसकेको छ। बागमती नदीमा कुनै प्रकारको दूषित (ठोस वा तरल) पदार्थ मिसाउन नपाउने र कुनै तरल पदार्थ मिसाउनै परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन पाउने व्यवस्था गर्नको निमित्त नदी किनारामा ढल निर्माण गर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ। तर कार्यालय रहेको ५० मिटरकै दूरीमा रहेको गौरीघाटमा ढल मिसिँदा पनि समिति मूकदर्शक बनेको छ।
काठमाडौँ उपत्यकाका नदीमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण, सञ्चालन तथा सम्भार गर्ने, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकताअनुसार सडक निर्माण र वृक्षारोपण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ तर विगत एक वर्षअघिदेखि नै समितिको नेतृत्व रिक्त रहेको पनि सूचना अधिकारी नेपालले सुनाए।
काठमाडौँ उपत्यकाका अन्य नदीको वहावक्षेत्र र हरितक्षेत्र अतिक्रमण भइरहेकाले त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि नाममा विभिन्न मितिमा गरिएको परिवर्तनसँगै समितिलाई नै दिइएको छ। तर समितिले शुरू गरेका काम पनि सम्पन्न हुन नसकेको भनी संसद्मै आवाज उठ्न थालेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रमा कोइराला पौडेलले भक्तपुरको हनुमन्ते नदी किनारमा ढल बिछ्याउन शुरू गरे पनि अलपत्र छोडेको भन्दै छिटो पूरा गर्न सरकार भएका निकायको ध्यानाकर्षण गराइन्।
सफाइ महाअभियान १३औँ वर्षमा, ढल सिधै बागमतीमा
बागमती सफाइ महाअभियान शुरू भएको १३ औँ वर्ष प्रवेश गरेको छ। सफाइ महाअभियान हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै जति सफा गरे पनि नसकिने अवस्थामा पुगेको छ। काठमाडौँ महानगरपालिकाको बजेटमा चाबहिल पिपलबोटबाट झारिएको ढल सिधै पशुपति क्षेत्रस्थित गौरीघाटमा ढल मिसाइएको छ।
विसं २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान सोमबारदेखि १३औँ वर्षमा प्रवेश गरेको हो। १२ वर्षसम्म सफाइ गर्दा पनि बागमती भने कालो देखिन्छ। अझ पशुपतिनाथ मन्दिरको माथि गौरीघाटमै ढल मिसिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन। यहाँबाट अधिकार सम्पन्न बागमती समितिको कार्यालय करिब ५० मिटरको मात्र दूरीमा रहेको छ।
माता पार्वतीको तपस्थली गौरीघाटसँगैको बागमती नदीमा सिधै ढल मिसाइएको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले जानकारी दिए। काठमाडौँ महानगरपालिका–७ द्वारा चाबहिल गौरीघाट हुँदै पिपलबोट सडक ढलानको क्रममा कम क्षमताको ढल बिछ्याउँदा ढलको ओभरफ्लो साइड ड्रेनमा जोडेर सिधै बागमतीमा पठाइएको उनले सुनाए।
पशुपतिनाथ मन्दिरभन्दा माथिको बागमती नदीमा ढल मिसाएपछि सम्पदाप्रेमी, बागमती सफाइका अभियानकर्मी सरोकारवालाले यसको विरोध गरेका छन्। ढलको साइज सानो र नियमित सरसफाइ नभएपछि गौरीघाट चोकबाट गुह्येश्वरीको फोहोर पानी प्रशोधन केन्द्रतर्फ पठाइएको ढलको फोहोर पानी सिधै गौरीघाटमा झर्न थालेको छ।
यसअघि काठमाडौँ महानगर–७ का वडा अध्यक्ष विमलकुमार होडाले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा ७२ इन्चको ढल बिछ्याउन माग राखी निवेदन दिएका थिए। यसलाई कार्यान्वयनको निम्ति ताकेता नगरी ढल मिसाइएको भन्दै सम्पदाप्रेमीले आपत्ति जनाएका छन्।
वडा अध्यक्ष होडा भने ढलमा ओभर फ्लो भएर र आकाशेपानी बढी भएर बागमतीमा ढल मिसिएको स्वीकार गर्छन्। यसका लागि जिम्मेवारी तोकिएको अधिकार सम्पन्न बागमती समितिले केही नगर्दा यस्तो अवस्था आएको उनको भनाइ छ।
पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउने व्यवस्थाका लागि विसं २०५१ मा अधिकार सम्पन्न बागमती समितिको स्थापना गरिएको थियो। समितिको स्थापना भएर काम शुरू भएको तीन दशक वर्ष पूरा भइसक्दा पनि बागमती भने अझै प्रदूषित बन्दै गएको देखिन्छ।
समितिका सूचना अधिकारी नेपाल वडा अध्यक्ष होडाले ठूलो ढल राख्न निवेदन दिएको स्वीकार गर्दै त्यसका लागि नापजाँचको काम भइरहेको बताउँछन्। आवश्यक हो, होइन पहिचान गरेर मात्र ठूलो ढल राखिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
