बागलुङमा बढे आन्तरिक पर्यटक

अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।

गलकोट– न्यून विदेशी पर्यटक भित्रिने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने बढेको छ। पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको हो।

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम संग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन्। पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ। नेपालकै सबैभन्दा लामो झोलुंगे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रूपमा वृद्धि भएको छ।

विराटनगर र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्य पर्न थालेका छन्। हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम संग्रहालयमा देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूको लर्को लाग्न थालेको छ। गत वर्ष एक लाखभन्दा बढी पर्यटकले शालिग्राम संग्रहालयको दर्शन गरेका स्थानीय अर्जुन सापकोटाले जानकारी दिए। 

नयाँ वर्ष २०८२ को पहिलो दिन कुडुँलेको शालग्राम शिलामा अहिलेसम्मकै धेरै पर्यटक आएको उनले बताए। चैते दसैँयता विद्यालय तथा क्याम्पसले विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि विभिन्न स्थानमा लैजाने गरेकामा अधिकांश पोखरा क्षेत्रबाट भ्रमणका लागि यहाँ आएका थिए। “नयाँ वर्षमा आन्तरिक पर्यटकका कारण शालग्राम संग्रहालयमा टेक्ने ठाउँ थिएन, त्यसयता बिदाको समयमा आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ, सदरमुकामबाट जम्मा चार किमीमा रहेको संग्रहालय अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक मुस्ताङसमेत पुग्ने गरेका छन्,” उनले भने। 

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिरलगायत बागलुङ नगरपालिका आसपासका पर्यटकीयस्थलमा मुक्तिनाथ हिँडेका तथा शैक्षिक भ्रमणका लागि पर्यटक आउने क्रम वृद्धि भएको छ। चैतेदसैँ र वडादसैँमा भिड हुने कालिका मन्दिरमा नयाँ वर्षसहित अन्य दिनमा पनि भिड लाग्न थालेको छ। 

पर्यटनका हिसाबले बागलुङ राम्रो भन्ने सुनेर शैक्षिक भ्रमणका क्रममा एक दिन बागलुङलाई छुट्याएर आएको हेटौँडाका राम महर्जन बताउँछन्। भ्रमण टोली पोखरा घुमेर बागलुङ हुँदै म्याग्दी र मुस्ताङ जाने योजना रहेको उनको भनाइ छ। 

मुस्ताङ हिँडेका पर्यटकलाई बागलुङका पर्यटकीय गन्तव्यले आकर्षित गर्न थालेको पर्यटन व्यवसायी बताउँछन्।  शैक्षिक भ्रमण तथा घुम्न आउने पर्यटकका कारण बागलुङका होटल यात्रीले भरिएका व्यवसायी अर्जुन चोखालले बताए। नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा पञ्चकोट र बागलुङ कालिका समावेश हुनु तथा पर्यटन व्यावसायीको सक्रियताले बागलुङमा आन्तरिक पर्यटकको आगमन बढेको हो।