गाउँमा सडक पुगेसँगै सुनसान बन्यो बाम्ती बजार

कुनै बेला पर्यटक खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डारमा अहिले चहलपहल छैन। पर्यटक हिँड्ने यहाँका रुट सुनसान छन्।

रामेछाप– रामेछापको सुन्दर बजार बाम्तीभण्डार प्राकृतिक हिसाबले धनी छ। उमाकुण्ड गाउँपालिका–२ बाम्तीको बाम्ती उपत्यका सुन्दर र मनोरम छ। 

नजिकै देखिने हिमाल, प्राकृतिक वनस्पति, जंगल अनि मिलेको फाँट बाम्ती हेर्न पनि रमाइलो छ। तर पनि बाम्तीभण्डार सुनसान छ। 

कुनै बेला पर्यटक खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डारमा अहिले चहलपहल छैन। दोलखाको जिरीबाट बाम्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु छिर्ने रुट कायम भएको समयमा बाम्तीमा जता हेर्‍यो त्यतै विदेशी पर्यटक देखिन्थे, भेटिन्थे । होटल खचाखच हुन्थे। होटलमा पर्यटक नअटाएपछि बाहिरै टेन्ट गाडेर बस्थे। बिहानदेखि राति अबेरसम्म बाम्तीमा विदेशी पर्यटकको लर्को हुन्थ्यो। 

अहिले सोलुखुम्बु जाने पर्यटक रामेछापको मन्थलीबाट जहाज चढेर जान्छन्। बसमा जानेहरू पनि सोझै सल्लेरी पुग्न लागेपछि पर्यटक हिँड्ने रुट सुनसान छन्। “पहिला पर्यटकहरूले बाटो पाई नसक्नु हुन्थ्यो, होटलमा बस्ने ठाउँ पाउँदैन थिए, अहिले बिहानदेखि बेलुकासम्म सुनसान छ, व्यापार व्यवसाय ठप्प छ,” स्थानीय ज्ञानबहादुर क्षेत्रीले भने। 

बाम्तीको जस्तै हालत छ सो रुटका पुराना चल्तीका बजार शिवालय, देउराली, किञ्जा लगायतको पनि। अहिले न होटलमा बास बस्ने पर्यटक छन् न बजारमा किनमेल गर्ने मान्छे। 

सडक पुगेपछि उपभोग्य सामान पनि गाउँमा नै पाइन्छ। त्यसैले बजारमा किनमेल गर्ने स्थानीय उपभोक्ता पनि न्यून छन्। “उही बजारका र बजार क्षेत्रका मानिसहरूको किनमेल गर्ने थलो बनेको छ बजार, बसमा आउने र फाट्टफुट्ट बाम्ती घुम्न आउने मानिसहरूको लागि बास बस्ने ठाउँ बनेका छन् होटलहरू,” क्षेत्रीले भने।