भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा माओवादी महासचिव बसवराजुसहित २७ जनाको मृत्यु

नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको गृहमन्त्री शाहले उल्लेख गरेका छन्। 

तस्वीर: बीबीसी

भारतको छत्तीसगढस्थित बस्तरमा सुरक्षा बलसँगको मुठभेडमा बुधबार २७ माओवादीको मृत्यु भएको छ। यो मुठभेडमा भाकपा माओवादीका महासचिव नम्बाला केशव राव उर्फ ​​बसवराजुको समेत मृत्यु भएको भारतीय गृहमन्त्री अमित शाहले पुष्टि गरेका छन्।  

बस्तर डिभिजनको नारायणपुर, बिजापुर र दन्तेवाडा जिल्लाको सिमानामा जारी मुठभेडमा यी माओवादीको मृत्यु भएको हो। “नक्सलवाद उन्मूलन गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि। आज, छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, सुरक्षा बलले २७ जना खतरनाक माओवादीलाई मार्न सफल भएका छन्, जसमा सीपीआई-माओवादी महासचिव, शीर्ष नेता र नक्सल आन्दोलनको मेरुदण्ड, नम्बाला केशव राव उर्फ ​​बसवराजु पनि समावेश छन्,” गृहमन्त्री शाहले एक्समा लेखेका छन्। 

नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको उनले उल्लेख गरेका छन्। 

छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा राज्यलाई नक्सलवादीमुक्त बनाउन सुरक्षा बलले काम गरिरहेको बताए। एएनआईसँग कुरा गर्दै उपमुख्यमन्त्री साओले मुठभेडका क्रममा एक सैनिकसमेत घाइते भएको पुष्टि गरेका छन्। घाइते जवानको उपचार भइरहेको र उनी खतरामुक्त रहेको उनको भनाइ छ।