धावनमार्गमुनिबाट पानी निस्किएपछि सुर्खेत विमानस्थल थप दुई बन्द रहने

शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जनाएको छ।

सुर्खेत– सुर्खेत विमानस्थल थप दुई दिन बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग (रनवे)मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो।

पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिएपछि अर्को ठाउँमा पनि जमिनमुनिबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हीराजन काफ्लेले जानकारी दिए।

बिहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भए पनि अर्को ठाउँको समस्याले फेरि दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए।

“पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमुनीमुनिबाट पानी निस्किएको छ,” काफ्लेले भने, “दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौँ।”

उनका अनुसार खाल्डो परेको रनवेक्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो। नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो।

शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जनाएको छ। सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलाइन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौँ–सुर्खेत रुटमा भर्दै आएका छन्।