तिलगाउँमा बाढी आएको १ सातापछि बल्ल प्रदेश सरकारले पठायो राहत

हुम्लाको नाम्खा गाउँपालिकाको तिलगाउँमा जेठ १ गते आएको बाढीपहिरोबाट प्रभावितका लागि कर्णाली प्रदेशले बिहीबार राहत सामग्री पठाएको छ।

सुर्खेत– कर्णाली प्रदेश सरकारले हुम्लामा बाढी आएको एक सातापछि बल्ल राहत सामग्री पठाएको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते गएको बाढीपहिरोबाट प्रभावित १८ परिवार अहिले त्रिपालमुनि बसिरहेका छन्।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको पहलमा बिहीबार हुम्लामा राहत सामाग्री पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए। जिल्ला प्रशासन कार्यालय हुम्लाको मागबमोजिम सामग्री पठाइएको गौतमको भनाइ छ।

पहिरो प्रभावितका लागि पाँच सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामग्री पठाइएको गौतमले बताए।

पहिरोबाट विस्थापितलाई पहिलो पटक बुधबार राहत सामग्री पुर्‍याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न संघसंस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्री हुम्ला पुर्‍याइएको जनाएको हो।

जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायतबम संरचनामा क्षति पुर्‍याएको छ। अहिले बाढी प्रभावित स्थानीय विद्यालयनजिकै पाल टाँगेर बस्दै आएका छन्।