तिलगाउँ बाढीको कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।

हुम्ला– नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिरोको कारण पत्ता लगाउन सरकारी विज्ञ टोली बिहीबार हुम्ला आइपुगेको छ।

बाढीपहिरोको एक हप्तापछि उनीहरू सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो।

टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन् । खराब मौसमका कारण विज्ञहरूको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए। 

जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो। बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रूप धारण गरेको प्रारम्भिक अनुमान छ।

स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रूपमा पुष्टि हुन बाँकी छ। काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ।