अब ड्रोन सेनाः प्रविधिले बदल्दैछ युद्धको परिभाषा, संसारलाई नयाँ चुनौती

ड्रोन प्रविधिले युद्धको परिभाषा र परम्परागत नियम नै फेरिदिएको छ। सैनिकहरू युद्धभूमिमा उत्रनुअगावै प्रहार गर्न सक्षम ‘नयाँ सेना’ अर्थात् ड्रोन सेना संसारका लागि नयाँ चुनौती बन्दै छ।

रूसी सेनाले युद्धाभ्यासको समयमा प्रक्षेपणको लागि ओर्लान-१० ड्रोनहरू तयार पार्दै। तस्वीर: विदेशी सैन्य अध्ययन कार्यालय (एफएमएसओ)

काठमाडौँ– रुसी सेनामा भर्ती भएका कपिलवस्तुका सुमन मगरसँग ‘ड्रोन हमला’को दुःखद अनुभव छ। २०२३ को जुलाईमा उनी रुसी सेनाको कब्जामा रहेको युक्रेनी शहर बखमुतको ‘रेड जोन’मा खटिएका थिए। आकाशमा उडिरहने युक्रेनी ड्रोनले रुसी सेनालाई देख्नेबित्तिकै बम खसाल्थे। त्यही बमको चपेटामा परे सुमन।

होस खुलेपछि हेर्दा उनको बायाँ हात थिएन। गत महिना काठमाडौँमा भेटिएका उनले त्यो घटना सम्झिँदै भने, “त्यस दिन मरेँ भन्ने लागेको थियो, तर बाँचेर फर्किएँ।”

सन् २०२२ को फेब्रुअरीयता रुस–युक्रेनबीच जारी पूर्णस्तरको युद्ध कहिले रोकिन्छ टुंगो छैन। यसबीच रुसले यही मे १८ मा युक्रेनमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गर्‍यो। रुसले विस्फोटक र डिक्वाइ ड्रोनसहित कुल २७३ ड्रोन प्रयोग गरेर आक्रमण गरेको युक्रेनी वायुसेनाले जनाएको छ। यीमध्ये ८८ वटालाई युक्रेनी प्रतिरक्षा प्रणालीले रोक्नुका साथै १२८ वटालाई नष्ट गर्‍यो। बाँकी ड्रोन युक्रेनको किभ, निप्रोपेट्रोभ्स्क र डोनेट्स्क क्षेत्रलक्षित थिए।

रुस र युक्रेन युद्धको तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको दुई दिनपछि भएको उक्त आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भए। युक्रेनले पनि त्यसै दिन रातिदेखि नै जवाफी ड्रोन हमला गर्‍यो। त्यस क्रममा २१ वटा युक्रेनी ड्रोनलाई खसालेको रुसको दाबी छ।

ड्रोन हमलामा युक्रेन पनि कम छैन। युक्रेनले गत जनवरी १५ मा रुसको दक्षिण–पश्चिम क्षेत्रलक्षित एकैपटक सबैभन्दा धेरै (१४६) ड्रोन आक्रमण गरेको थियो। शक्तिशाली रुसलाई हायलकायल पार्न युक्रेनलाई ड्रोन प्रविधिले ठूलो सहयोग पुर्‍याएको छ।

लन्डनको किङ्स कलेजअन्तर्गत रक्षा अध्ययन विभागकी अनुसन्धानकर्ता डा. मार्टिना मिरोन रुससँगको युद्धमा युक्रेन अहिलेसम्म टिक्न सक्नुका पछाडि ड्रोनको महत्त्वपूर्ण भूमिका रहेको बताउँछिन्।

बीबीसीसँगको कुराकानीमा उनी भन्छिन्, “पहिले, यदि शत्रुको स्थिति पत्ता लगाउनुपर्‍यो भने त्यसका लागि एक विशेष सेनाको युनिट पठाइन्थ्यो। यस प्रक्रियामा केही सैनिक मारिने जोखिम हुन्थ्यो। तर अहिले यो जोखिमपूर्ण काम ड्रोनले गरिरहेका छन्।”

युक्रेनलाई यसले निकै फाइदा पुगेको उनको भनाइ छ।

२०२३ को जुलाइमा युक्रेनको जापोरिझिया क्षेत्रमा एक युक्रेनी सपाहीले फ्रन्टलाइनमा आक्रमणका लागि ड्रोन तयार पार्दै। तस्वीर: एपी

यस युद्धमा हजारौँको संख्यामा ड्रोन प्रयोग भए पनि दुवै देशले आधिकारिक तथ्यांक सार्वजनिक नगरेकाले त्यसको यकिन जानकारी भेटिँदैन।

सेनाको संख्या बढाउन नसके पनि युक्रेनले वार्षिक लाखौँको संख्यामा ड्रोन उत्पादन गरिरहेको छ। कतिपयले त्यसलाई ‘ड्रोन सेना’ भनेर व्यंग्य नै गर्न थालेका छन्। युक्रेनमा रुसको आक्रमणअघि ड्रोन उत्पादन लगभग शून्यप्रायः थियो। युद्धकै बीच युक्रेन आफैमा ड्रोन उत्पादन कारखाना नै बनेर उदाउने सङ्घारमा छ।

गत अक्टोबरमा विदेशी हतियार निर्माताका कार्यकारीसमक्ष आफ्नो भाषणमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनले यो वर्ष ४० लाख ड्रोन उत्पादन गर्ने बताएका थिए। जेलेन्स्कीले त्यतिबेला ड्रोन उत्पादनलाई जोड दिँदै भनेका थिए, “वर्षौं पहिले युक्रेनी रक्षा उद्योग असहाय देखिन्थ्यो। तर अब, यो उद्योग युरोपकै नेतृत्व गर्ने बाटोमा छ।”

ड्रोन प्रविधिले युद्धका धेरै परम्परागत नियम नै बदलिदिएको छ। विशेष गरी ड्रोनले सैनिकलाई सीधै युद्धभूमिमा उत्रनुअघि नै प्रहार गर्न सक्षम बनाएको छ। अब युद्धमा ट्यांक, लडाकु विमान र भारी हतियारको साटो साना, छिटो र सस्तो ड्रोन ‘गेम चेन्जर’ साबित हुनेछन् भन्ने कुरालाई रुस–युक्रेन युद्धले देखाइसकेको छ।

पछिल्लो समय भारत–पाकिस्तानबीचको तनावमा पनि ड्रोनको व्यापक प्रयोग भएको थियो। अप्रिलमा भारतको कश्मीरमा भएको पहलगाम हमलापछि मे ७ मा भारतले ‘अपरेसन सिन्दूर’ घोषणा गर्दै पाकिस्तानमा हवाई आक्रमण गर्‍यो। भारतीय सेनाका अनुसार त्यसमा चार वटा ड्रोन प्रयोग गरिएको थियो। त्यसको भोलिपल्ट राति पाकिस्तानले पनि जवाफी कारबाही गर्दै एकै पटक सयौँको संख्यामा ड्रोन आक्रमण गर्‍यो।

भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले भनेकी थिइन्, “लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३००–४०० ड्रोन प्रयोग गरेर घुसपैठको प्रयास गरिए पनि भारतीय सुरक्षा बलले काइनेटिक र गैरकाइनेटिक माध्यम प्रयोग गरेर यी धेरै ड्रोन खसालेको थियो।”

पाकिस्तानको यति ठूलो मात्रामा ड्रोन आक्रमण गर्नुको अभिप्राय भारतको हवाई रक्षाप्रणाली जाँच्न खोज्नु र गुप्तचर जानकारी संकलन गर्नु रहेको उनको भनाइ थियो।

भारतीय ड्रोन रुस्तम-२

पाकिस्तानी सेनाले पनि कराँची, लाहोर र रावलपिंडीलगायतका शहरमा २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो। दुवै देशका सुरक्षा निकायले एकअर्काका ड्रोन खसाएको दाबी गरे पनि कसले कति ड्रोन प्रहार गरे भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म सार्वजनिक भएको छैन।

बीबीसी, अल जजिरालगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारत–पाकिस्तानबीच ‘ड्रोन युद्ध’ भएको भन्दै समाचार प्रकाशन गरेका थिए।

यद्यपि रुस–युक्रेन युद्धमा ड्रोनले युद्धभूमिलाई नयाँ आकार दिए पनि भारत–पाकिस्तान द्वन्द्वमा तिनको भूमिका अझै सीमित र प्रतीकात्मक रहेको विज्ञहरू बताउँछन्।

बीबीसीसँगको कुराकानीमा भारतीय रक्षा विश्लेषक मनोज जोशी भन्छन्, “भारत–पाकिस्तान युद्धमा भारी क्षेप्यास्त्रको सट्टा ड्रोन तैनाथ गर्नु तल्लोस्तरको सैन्य विकल्प हो। ड्रोन मानवयुक्त विमानभन्दा कम भारी हतियारयुक्त हुन्छन्, त्यसैले यो एक संयमित कदम पनि हो।”

यसबाहेक, सैन्य अभियानका लागि धावा बोल्न पनि एक देशले अर्को देशमा व्यापक ड्रोन आक्रमण गर्न सक्ने उनी बताउँछन्।

युद्धमा ड्रोनको प्रयोगबारे कुरा गरिरहँदा हमास–इजरायलबीचको युद्धलाई बेवास्ता गर्नै मिल्दैन। किनकि, यस युद्धको थालनी नै प्यालेस्टिनी सशस्त्र समूह हमासले गरेको जमिन र हवाई कारबाहीबाट भएको थियो। हवाई कारबाहीअन्तर्गत सयौँको संख्यामा ड्रोन हमला भएको थियो।

जेरुसलम पोस्टका अनुसार प्यालेस्टिनी भूमि गाजा स्ट्रिपमा सक्रिय हमासले २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्न विस्फोटक बोकेका दर्जनौँ ड्रोन प्रहार गरेको थियो। ती ड्रोनले आकाशबाटै गाजा सीमामा रहेका इजरायली निगरानी क्यामरा प्रणालीमा विस्फोटक पदार्थ खसालेका थिए। इजरायली सेना बोक्ने ‘एपीसी’माथि बम प्रहार गरी क्षतविक्षत पारेको थियो। जसले गर्दा सीमा क्षेत्रमा तत्कालै प्रतिक्रिया जनाउन इजरायली डिफेन्स फोर्स (आईडीएफ) लाई समस्या भयो र हमास इजरायलीका घरघरमा घुसेर हत्या, अपहरण, बलात्कार गरे। त्यतिबेलै इजरायलको किबुत्ज क्षेत्रका कृषि फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो र अहिलेसम्म विपिन जोशी सम्पर्कविहीन रहेका छन्।

“जब मैले अक्टोबर ७ मा गाजा डिभिजनमा रहेको आईडीएफका निगरानी टावरमा आक्रमण गर्ने ड्रोन देखेँ, मेरो मुटु हल्लियो,” इजरायली राष्ट्रिय सुरक्षा अध्ययन संस्थानकी वरिष्ठ अनुसन्धानकर्ता डा. लिरान एन्टेबीले भनेकी थिइन्।

उनका अनुसार हमासले विभिन्न मिसनका लागि सबै ब्रिगेडमा विभिन्न प्रकारका ड्रोन फोर्स निर्माण गरेको थियो। त्यसैले इजरायलमाथि धावा बोल्न हमासलाई त्यतिबेला आँट आयो। तर मध्यपूर्वकै शक्तिशाली र अमेरिकाको पूर्ण समर्थन पाएको इजरायल हमासलाई सफाया गर्ने क्रममै छ। विश्वमै ड्रोनको उन्नत रूप मानिने मानवरहित हवाई सवारीसाधन (यूएभी) को प्रमुख निर्यातकर्तामध्ये एक इजरायलले अझै हमाससँग ड्रोन युद्ध चलाइरहेको छ। ड्रोन प्रविधिसहित अत्याधुनिक हातहतियारसम्पन्न इजरायली आक्रमणमा परी ५२ हजारभन्दा धेरै निर्दोष प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्।

युद्धमा ड्रोनको थालनी
ड्रोन एक प्रकारको उड्ने रोबोट हो, जसलाई सफ्टवेयर प्रणालीद्वारा नियन्त्रण गरिन्छ। उडान योजना, उडान मार्ग आदि ड्रोनको सफ्टवेयरमा पूर्व–प्रोग्राम गरी टाढैबाट नियन्त्रण गर्न सकिन्छ। ड्रोनले जहाजमा रहेका सेन्सर र ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) सँग मिलेर काम गर्छ। तिनलाई बमलगायत विस्फोटक पदार्थ बोक्ने, प्रहार गर्ने र उच्चस्तरको क्यामरासहित निगरानी गर्न सक्ने गरी विभिन्न आकार/प्रकारमा विकास गरिएका हुन्छन्।

इम्पेरियल वार म्युजियमको वेबसाइटका अनुसार, ड्रोनलाई पहिले ‘रिमोटली पाइलटेड भेहिकल’ (आरपीभी) भनिन्थ्यो। जसलाई प्रथम विश्वयुद्धको समयमा अमेरिका र बेलायतले बनाएका थिए। त्यतिबेला यो रेडियो तरंगद्वारा नियन्त्रित हुन्थ्यो। सन् १९३० को दशकमा बेलायतीले धेरै रेडियोनियन्त्रित विमान उत्पादन गरे। यी मोडेलमध्ये एक, ‘डीएच.८२बी क्वीन बी’को नामबाट प्रेरित भएर त्यस समयमा ‘ड्रोन’ शब्दको प्रयोग गर्न थालिएको मानिन्छ। वास्तवमा, नर माहुरीलाई अंग्रेजीमा ‘ड्रोन’ भनिन्छ।

ड्रोनले युद्धक्षेत्रको वास्तविक समयमै खुफिया जानकारी एकत्रित गर्न सक्छ। त्यसमा प्रयोग गरिने हाइ–रिजोल्युसन क्यामरा, थर्मल इमेजिंग र रडार प्रयोग गरेर शत्रुको गतिविधि निगरानी गरिन्छ। ड्रोनले मिसाइल वा बम प्रयोग गरी शत्रुका महत्त्वपूर्ण लक्ष्य– जस्तै आतंकवादी ठेगाना, ट्यांक वा कमान्ड सेन्टरलक्षित हमला गर्छ। यसका साथै ड्रोनले युद्धभूमिमा सैनिकलाई आवश्यक सामग्री (जस्तै औषधि, हतियार, खाना) पुर्‍याउन पनि मद्दत गर्छ।

रेडियो तरंगबाट चल्ने 'डे ह्याभिल्यान्ड क्वीन बी सीप्लेन' ड्रोन प्रक्षेपणको तयारी हेर्न पुगेका तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल। तस्वीर: इम्पेरियल वार म्युजियम

समयक्रमसँगै ड्रोन प्रविधि परिष्कृत हुँदै गएको छ। सन् २००१ मा वर्ल्ड ट्रेड सेन्टरमा अलकायदाको आत्मघाती आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा आतंकवादीमाथि निगरानी गर्न ड्रोन प्रविधिको व्यापक प्रयोग गरेको थियो। त्यसपछि सिरियामा आईएसआईएस, साउदी अरबमा हुथी र इराकमा अमेरिकी सैन्य अड्डाविरुद्ध इरान समर्थक सिया मिलिसियाले ड्रोन हमला गर्न थाले। तर पछिल्लो समय रुस–युक्रेन युद्धले, युद्धमा ड्रोन प्रविधिबारे नयाँ मानक नै स्थापित गरिदियो।

डा. एन्टेबीका अनुसार युक्रेन–रुस युद्धले चिह्न लगाएको मुख्य परिवर्तन भनेको राज्यबीचको युद्धको दायरामा साना मल्टिरोटर ड्रोनको प्रयोग थियो। यद्यपि, सँगसँगै अर्को प्रणाली पनि सामेल भयो, मानवरहित हवाई सवारीसाधन (यूएभीएस ड्रोन)। यो महँगो हुनुका साथै बढी प्रभावकारी पनि मानिन्छ।

युद्धरत देशसँग कस्ता ड्रोन?
ड्रोनबारे अध्ययन गर्ने संस्था ड्रोन सेन्टरका अनुसार विश्वका आधाभन्दा बढी देशले ड्रोन उत्पादन गरिरहेका छन्। सेन्टरले नयाँ तथ्यांक अद्यावधिक नगरे पनि २०२० सम्म कम्तीमा १०२ देशसँग सक्रिय रूपमा ड्रोन उत्पादन परियोजना रहेको जनाएको छ। युद्धमा प्रयोग हुने ड्रोनलाई मुख्यतया हमला गर्ने, निगरानी गर्ने र ढुवानी गर्ने गरी तीन भागमा छुट्याइएका छन्। हमला गर्ने ड्रोनमा पनि विस्फोटक बोकेर लक्षित ठाउँमा खसाल्ने/प्रहार गर्ने तथा आत्मघाती हमला गर्ने गरी विभिन्न उद्देश्यले निर्माण गरिएका हुन्छन्।

अमेरिका, चीन, इजरायल, टर्किए, इरान, साउदी, चीनलगायत देश युद्ध ड्रोन उत्पादनमा अगाडि देखिन्छन्। अन्य देशबाट किनेर प्रयोग गर्नुपर्दा आर्थिक बोझका साथै सुरक्षा चुनौती हुने भएकाले युद्धरत देश आफैँ पनि ड्रोन उत्पादन गर्न थालेका छन्। जस्तो, रुस, युक्रेनले यस उद्योगमा लगानी बढाएका छन्। तर पनि विद्रोहीसँग लड्न उच्च प्रविधिको ड्रोनको खोजी युद्धरत देशले गर्ने नै भए।

अजरबैजानले २०२३ मा अर्मेनियाविरुद्ध टर्किएमा बनेको ‘बेरेक्तर टीबी२’ ड्रोन प्रयोग गरेर युद्ध जितेको थियो। यस ड्रोनलाई अत्यधिक परिशुद्धतासाथ आक्रमण गर्न सक्षम मानिन्छ। यसको आकार सानो विमानजत्तिकै हुन्छ र लेजर निर्देशित बमले सुसज्जित हुन्छन्। युक्रेनले पनि रुसविरुद्ध लड्न मुख्यतया त्यही टर्किए ड्रोनका साथै ‘कामिकाजे’ अर्थात् आत्मघाती ड्रोन प्रयोग गर्दै आएको छ। यी मिसाइलभन्दा सस्तो पर्छन्। सामान्यतया सटिक मिसाइलको प्रतियुनिट लागत दश लाख डलर पर्ने ठाउँमा कामिकाजी ड्रोनको लागत २० हजार डलरसम्म पर्न जान्छ। यस्तै, अमेरिकाले पनि युक्रेनलाई ‘स्विचब्लेड’ कामिकाजे सैन्य ड्रोन उपलब्ध गराउँदै आएको छ। विस्फोटक पदार्थ बोकी उड्ने यी ड्रोन आफ्नो लक्ष्य नभेटेसम्म आकाशमा परिक्रमा गरिरहन्छन्।

रुससँग आफ्नै ओर्लान–१०, सर्चर एमकेलगायत शक्तिशाली ड्रोन छन्। यी ड्रोनमा उच्च क्षमताको क्यामरा हुनुका साथै साना बम बोक्न सक्नेगरी निर्माण गरिएका छन्। रुसी सैनिकले ओर्लान–१० ले आफ्नो लक्ष्य पत्ता लगाएको तीनदेखि पाँच मिनेटभित्र आक्रमण गर्न सक्छन्।

यसबाहेक रुसले इरानबाट पनि यूएभीएस ‘शाहेद ड्रोन’ खरिद गरिरहेको छ। हुथी विद्रोहीले पनि साउदी अरबलगायत क्षेत्रमा आक्रमण गर्न तिनै शाहेद ड्रोनको प्रयोग गर्ने गर्छन्। विशेष गरी रुसका लागि निर्माण गरिएको ‘ग्यारेन–२’ भनिने ‘शाहेद–१३६’ ड्रोनले एक हजार ६०० माइल यात्रा गर्न सक्छ र ११० पाउन्ड वारहेड अर्थात् विस्फोटक बोक्न सक्छ।

इरानले २०२१ मा सैन्य अभ्यासको क्रममा स्थानीय रूपमा निर्मित सयौं यूएभी ड्रोन अनावरण गरेको थियो। तस्वीर: अल जजिरा

रुसलाई युद्धमा सघाइरहेको इरान ड्रोन उत्पादनमा आक्रामक देखिएको छ। गत जनवरीमा इरानले देशमा नयाँ ड्रोन बेस निर्माण गर्ने समाचारले मध्यपूर्वसहित पश्चिमा राष्ट्रलाई झस्काएको थियो। हमास, हिजबुल्लाह, हुथीलगायत विद्रोही समूहलाई पनि इरानले ड्रोन आपूर्तिमा सहयोग गर्छ।

इजरायलसँग आफ्नै शक्तिशाली यूएभी ड्रोन ‘आईएआई हेरोन’ छ। गाजामा हमास र लेबनानमा हिजबुल्लाहको समूहमाथि आक्रमण गर्न इजरायलले यही ड्रोनको बढी प्रयोग गर्छ। प्यालेस्टिनी क्षेत्रको अवलोकन गर्न यूएभीका साथै एआईजडित मिनी निगरानी ड्रोनको पनि अत्यधिक प्रयोग गरिरहेको छ। कम उचाइमा उड्ने यी ड्रोन भवन र सुरुङमा प्रवेश गरेर आफ्ना सैनिकका लागि सुरक्षित छन् कि छैनन् भनी निर्धारण गर्नुका साथै निर्देशित क्षेत्रमा हमला गर्न सक्षम छन्।

भारतसँग पनि विभिन्न प्रकारका ड्रोन छन्। यसको आफ्नै रुस्तम र तपस नामक यूएभी ड्रोन छ। यसबाहेक भारतले इजरायलसँग ड्रोन सम्झौता नै गरेको छ। यसमा हारोप, हेरोन मार्क–२ र स्काई–स्ट्राइकर जस्ता ड्रोन समावेश छन्। बैंग्लोरमै उत्पादन हुने स्काई–स्ट्राइकर ड्रोनले लगभग १०० किलोमिटर उड्नसक्ने र १० किलोग्रामसम्मका हतियार बोक्न सक्छन्। यस्तै, एन्टिरडार प्रविधिजडित हारोपमा सटिक सर्जिकल स्ट्राइक गर्ने क्षमता भएको बताइन्छ। भारतले अमेरिकाबाट पनि ‘एमक्यू रिपर’ ड्रोन खरिद गरेको छ।

पाकिस्तानसँग आफ्नै शाहपर ड्रोन छ जसले ५०० किलोको विस्फोटक बोक्न सक्ने दाबी गरिएको छ। यसबाहेक पाकिस्तानसँग टर्किएमा बनेको बेरेक्तर एकेन्सी र चीन निर्मित सीएच–४ ड्रोन छ। पछिल्लो समय भारतमा आक्रमण गर्दा पाकिस्तानले टर्किए निर्मित ड्रोन प्रयोग गरेको भारतीय सुरक्षा अधिकारीको दाबी छ।

तर हरेक वर्ष नयाँ प्रविधि विकास भइरहेकाले अहिले कुन देशसँग कस्तो ड्रोन छ भन्ने कुराले भविष्यमा फरक नपर्ने बताउँछिन् अन्तर्राष्ट्रिय सम्बन्धका लागि युरोपेली परिषद्की वरिष्ठ पोलिसी फेलो उर्लिक फ्रान्क। उनी भन्छिन्, “ड्रोन प्रकारले चाँडै आफ्नो उपयोगिता गुमाउन सक्छन्। यदि लडाइँको अवस्था परिवर्तन भयो वा तिनको सामना गर्ने प्रतिरक्षा विकास गरियो भने आजको शक्तिशाली ड्रोन प्रणाली भोलि अप्रचलित हुन सक्छ।”

ड्रोनसँगै चुनौती
ड्रोनले युद्धको चरित्रलाई परिवर्तन गरेसँगै विश्व सशस्त्र ड्रोन प्रयोगको युगमा आइपुगेको छ। ड्रोनले युद्धलाई सस्तो, कम जोखिमयुक्त (कम सैनिक मारिने) तर अत्यधिक प्रभावकारी बनाएको छ। यसले गरिब राष्ट्र पनि शक्तिशाली सेनाविरुद्ध गुरिल्ला युद्ध लड्न सक्ने भएका छन्। राज्य र लडाकु समूहबीच ड्रोन प्रविधिको तीव्र प्रसारले अन्तर्राष्ट्रिय समुदायमाझ नयाँ खतरा खडा भएको छ। यसले शक्ति सन्तुलनमा परिवर्तन ल्याइरहेको विज्ञहरू बताउँछन्।

ओरियन पोलिसी इन्स्टिच्युटमा प्रकाशित एक लेखमा न्याय, कानून र अपराधशास्त्रका प्राध्यापक सुवात कोबुकु ड्रोन प्रविधिको द्रुत प्रसारले विश्वव्यापी सुरक्षा र आतंकवादविरोधी प्रयासमा अभूतपूर्व चुनौती खडा गरेको बताउँछन्।

इजरायली सिमानजिक लेबनानी सशस्त्र समूह हिजबुल्लाह आन्दोलनको झण्डा बोकेको ड्रोन। तस्वीर: एएफपी

“ड्रोनको प्रयोगले व्यावसायिक जहाज, सैन्य इलाका, तेल–ग्यास–विद्युत् र आणविक पूर्वाधारहरूमा आतंकवादी आक्रमणको जोखिम बढाएको छ,” उनी लेख्छन्। विश्व आतंकवाद प्रवृत्ति र विश्लेषण केन्द्र (जीटीटीएसी) का अनुसार २०१८ देखि २०२४ सेप्टेम्बरसम्म गैरराज्य समूहद्वारा आतंकवादी उद्देश्यका लागि ८१० वटा ड्रोन आक्रमण गरिएको थियो। जसमा अनुमानित एक हजार ३०० जनाको मृत्यु र एक हजार ५०० घाइते भए। २०१८ देखि यस्ता घटनामा निरन्तर वृद्धि देखिएको छ।

यस्तै, युद्धमा ड्रोन प्रविधिको अर्को प्रमुख चुनौती भनेको त्यसको उत्पादन, प्रयोग र त्यसलाई प्रतिकार गर्न लाग्ने असमान लागत हो। उदाहरणका लागि, इराननिर्मित शाहेद–१३६ कामिकाजे ड्रोनको लागत लगभग ५० हजार अमेरिकी डलर छ। काउन्टर ड्रोन प्रणालीको साथ एउटा ड्रोनलाई रोक्न ड्रोनको लागतको २० गुणासम्म खर्च हुन सक्छ। यसले कुनै पनि देशलाई आर्थिक बोझ सिर्जना गराउने सुवात कोबुकु बताउँछन्।

सशस्त्र ड्रोनको बढ्दो प्रयोगले संसारलाई अझ खतरनाक ठाउँ बनाइरहेको छ। ड्रोनले राज्यलाई अन्तर्राष्ट्रिय कानूनको मापदण्ड तोडेरै आक्रमण गर्न सक्षम बनाइरहेका छन्। त्यसैले होला अमेरिकी कानून प्राध्यापक रोजा ब्रुक्स फरेन पोलिसीमा लेख्छिन्, “अब शान्तिकाल भन्ने कुनै चिज छैन। युद्ध र युद्ध नभएको बीच स्पष्ट भिन्नता कोर्न लगभग असम्भव भएको छ।”