बर्खा नलाग्दै बीपी राजमार्गको बिजोग [तस्वीरहरू]

बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– रोशी खोलामा गत वर्ष असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन। अहिले पनि पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ। यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। 

पटक–पटक सडक नै अवरुद्ध हुन थालेको छ। खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न हम्मे पर्छ। कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ। अहिले नै खोलामा बाढी आउँदा बाटोसम्म पानी आइपुग्ने गरेको छ। ठाउँ–ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि छ।

बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको थियो। बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ।

पूर्ण रूपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्यबर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।