विदेशी विद्यार्थी भर्ना लिन हार्वर्डलाई ट्रम्प प्रशासनको बन्देज

हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ।

तस्वीर: रोयटर्स।

विदेशी विद्यार्थी भर्ना लिन हार्वड विश्वविद्यालयलाई डोनाल्ड ट्रम्प प्रशासनले बन्देज लगाएको छ। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार एक्समा हार्वर्डले कानून पालना गर्न असफल भएको कारण विदेशी विद्यार्थी भर्ना रद्द गरेको जानकारी दिइन्।

उनले लेखेकी छन्, “हार्वर्डसँग सही काम गर्ने प्रशस्त अवसर थियो तर यसले अस्वीकार गर्‍यो।”

अन्य विश्वविद्यालयलाई पनि पाठ सिक्न नोएमले चेतावनी दिएकी छन्। उनको भनाइ छ, “यसले देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूका लागि चेतावनीको रूपमा काम गरोस्।”

 

हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ। ट्रम्प प्रशासनले भनेको छ, “विदेशी विद्यार्थी भर्ना गर्नु एउटा विशेषाधिकार हो, अधिकार होइन।”

हार्वर्डलाई अमेरिकी विरोधी, यहूदी विरोधी र आतंकवाद समर्थक आन्दोलनकारीको अखडा भएको ट्रम्प प्रशासनले आरोप लगाएको छ।

हार्वर्डले एक विज्ञप्तिमा यो कदमलाई ‘गैरकानूनी’ भनेको छ।