प्रहरीले छुट्याएको प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको छ भने यसमा मात्रै ११ हजार ४८ मुद्दा दर्ता रहेका छन्।

काठमाडौँ– प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको हो। 

त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबरजस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छन्।

बैंकिङ कसुरका मुद्दा मात्रै ११ हजार ४८ दर्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार उक्त विवरण पछिल्लो १० महिनाका हुन्। त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा ६ हजार ८८४ वटा मुद्दा दर्ता भएका छन्। 

लागुऔषधका चार हजार ४१, चोरीका दुई हजार ९४०, जबरजस्ती करणीका एक हजार ८२८, ठगीका एक हजार ७५०, सवारी ज्यानसम्बन्धी, एक हजार ५५७, ज्यान मार्ने उद्योगमा ८९४ र बहुविवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीले शुक्रबार सार्वजनिक गरेको विवरणमा कुल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८.५१ प्रतिशत रहेको जनाएको छ।

प्रवक्ता थापाले उक्त तथ्यांक विश्लेषण गर्दा औसतमा दैनिक अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको बताए। उनले जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरीप्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्यांकले देखाएको दाबी गरे।