पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाको घट्दो आकर्षण

कुनै समय खुम्बु क्षेत्रका हरेक युवा सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे। हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो क्रममा छ।

सोलुखुम्बु– सोलुखुम्बुका दावा शेर्पाले जीवनका ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बिताए। कलिलो उमेरमै हिमालमा भारी बोक्न शुरू गरेका उनी ६१ वर्ष पुगे। पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ।

भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँ र त्यहाँको बाटो निकै प्रिय लाग्छ। विगत सम्झिँदै उनी भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन। पुराना घरहरू थिए। पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे। शेर्पा युवाहरू कोही भारी बोक्थे, अंग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे।”

पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन्। कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ। “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ। जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ। त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे। तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन्,” उनले भने।

पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासंघको भनाइ छ। छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा देखिएका छैनन्। 

नेपाल पर्वतारोहण संघका सञ्चार अधिकृत दीपेन्द्र गुरुङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शक भए पनि दोस्रो पुस्ताका शेर्पा युवाको कम सहभागिता छ। “हाल सोलुखुम्बुपछि संखुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ। त्यसपछि खोटाङ, ओखलढुंगालगायत जिल्लाबाट पनि सहभागिता छ,” उनले भने।

संघका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ। करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ। कतिपय हिमाल अझै अध्ययनको क्रममा छन्। सञ्चार अधिकृत गुरुङ भन्छन्, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ। भविष्यमा पर्यटकको संख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ। हालसम्म चिन्ता छैन। तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो।”

शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन्। हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुंगो नरहेको हिमालयन उद्धार संघका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताए। 

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा संग्रहालय सञ्चालन गरिरहेका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ। शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उनको अनुमान छ। बरु जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उनले बताए। “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ। सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ?,” उनले भने। 

हालसम्म आठ पटक सगरमाथा आरोहण गरेका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताउँछन्। “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छौँ। हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ। हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पा कम भेटिन्छन्,” उनले भने। 

सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे। कलिलो उमेरदेखि नै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ। आठ पटक सगरमाथा आरोहण गरिसकेका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो। आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन्। हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ।

“पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्,” उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन। निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ।”

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपर्थ्यो। ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम गरेको तर हिमाल आरोहण नगरेको बताउँछन्।

तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो। विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए।

नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ। कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे। हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो।