ललितपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

ललितपुरमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

काठमाडौँ– ललितपुरमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको उनले बताए। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताए।