अन्तिम चरणमा ग्वार्को ओभरपास [तस्वीरहरू]

अहिले ओभरपासमा पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ। मौसमले साथ दिए जेठ मसान्तभित्र ओभरपास सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपास अन्तिम चरणमा पुगेको छ। 

जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको निर्माण सडक विभागले जनाएको छ। निर्माण कम्पनी आशिष–समानान्तर जेभीका अनुसार जेठ १५ भित्र काम सकेर सरकारलाई हस्तान्तरण तयारी छ। 

ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप भएको थियो। थपिएको समयमा पनि काम पूरा नभएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ। अहिले ओभरपासमा पेन्टिङ, ट्राफिक साइन र कालोपत्रेको काम भइरहेको छ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो। त्यसपछि २०८१ पुस ८ सम्मका लागि म्याद थप गरिएको थियो। दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो।

ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडकखण्डमा चल्ने सवारीसाधन ओभरपासबाट, ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडकखण्डबाट गुड्नेछन्। 

ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडकखण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ।