नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचकमा ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन परिसूचक घटेर बन्द भएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको हो।

यसअघि बिहीबार नेप्से परिसूचकमा १९ अंकको वृद्धि देखिएको थियो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।

नेप्सेका अनुसार आज विभिन्न ३१४ कम्पनीका एक करोड ८५ लाख पाँच हजार ७७१ कित्ता शेयर किनबेच भयो। जसबाट सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बिहीबार नौ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सर्वाधिक लघुवित्त समूहको उपसूचक २.३२ प्रतिशतले बढेको छ भने व्यापार समूहको उपसूचकमा ०१३ प्रतिशतको वृद्धि देखिएको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

नेप्सेका अनुसार बैंकिङ ०.६६, विकास बैंक १.४६, वित्त ०.९९, होटल तथा पर्यटन १.७५, जलविद्युत् ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.०३, म्युचुअल फन्ड २.९६, निर्जीवन बीमा ०.१० र अन्य समूहको उपसूचक ०.४५ प्रतिशतले घटेको हो।

आज ओम मेघाश्री फार्मास्युटिकलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर मूल्य ८.२८ प्रतिशतले घटेको छ। आइतबार सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ७१ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।