शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएका तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो तथा अर्का बिरामीमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको जनाएको छ।
भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपाली टोलीबाटै पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो एकै व्यक्तिलाई सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए।
यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अंगमध्ये एउटा मिर्गौला र कलेजो एक जनालाई र अर्को मिर्गौला एक जनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उनले जानकारी दिए।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताउँदै भने, “मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ। अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ। उनको स्वास्थ्य अवस्था सुधार छ, अबको केही दिनमा उपचार सकेर घर फर्किनुहुन्छ।”
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा. श्रेष्ठको नेतृत्वमा, कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनको सहयोग तथा मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का, एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्यलगायत स्वास्थ्यकर्मीले सहफलतापूर्वक प्रत्यारोपण गरेका थिए।
मस्तिष्क मृत भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गाैला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए। नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि ६ जनाको मृत्यु हुने गरेको, काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकामा उनीहरूको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने अस्पतालले जनाएको छ।
एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी आठ जनामा अंग प्रत्यारोपण गरेर जीवन दिन सकिन्छ।
मस्तिष्क मृत्युपश्चात्को अंगदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको, यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशतभन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट हुनसक्ने र देश अंग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए।
केन्द्रले विसं २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो। नेपाली टोलीबाट विसं. २०७५ कात्तिक १२ गते पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो। केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। केन्द्रमा १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुँदै आएको जनाइएको छ।
केन्द्रले देशमा पहिलोपटक विसं २०७४ वैशाख २८ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरेको थियो। त्यसपछि हालसम्म ६ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए।
३०० शय्याको अस्पताल बनाउन जग्गा माग
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले देशको सातवटै प्रदेशमा प्रत्यारोण सेवा विस्तार गर्ने योजना बनाइएको बताउँदै बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा सेवा शुरू गरिसकेको जानकारी दिए।
प्रत्याारोण सेवा विस्तारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने संघीय सरकारको घोषणा कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँदै उनले उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट तीन सयदेखि पाँच सय शय्याको भवन बनाउने योजना अलपत्र परेको गुनासो गरे।
भक्तपुर इँटा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा वा सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका–८ सुडालको जग्गामध्ये कुनै एक ठाउँको जग्गा प्राप्त गर्न सके भवन निर्माण यथाशीघ्र हुने श्रेष्ठले उल्लेख गरे।
उनले भने, “अंग फेल भएका गरिब नेपाली जनताको ज्यान बचाउन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हालसम्म आफ्नै जग्गा र भवन छैन। अहिले उपलब्ध भवन अत्यन्तै साँघुरो छ। केन्द्रले तीन सय शय्याको भवन बनाउन सक्षम छ। उपयुक्त जग्गा तत्काल उपलब्ध गराउन लागि सरकारसँग माग गर्दछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
