तीनकुने घटनामा रवीन्द्र, धवलशमशेर, दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दायर

तीनकुने घटनामा रवीन्द्र मिश्र, धवलशमशेर जबरा, दुर्गा प्रसाईं लगायतविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अभियोगपत्र दायर भएको छ।

काठमाडौँ– जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले तीनकुने घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सरकारी वकिल कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनाको झन्डै दुई महिना लगाएर अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर, काठमाडौँले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको थियो।

तर सरकारी वकिल कार्यालयले तीमध्ये ६५ जनाविरुद्ध मात्रै मुद्दा दायर गर्ने भएको हो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले आइतबार ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको र सोमबार थप चार जनाविरुद्ध अभियोगपत्र दायर हुने बताए।

उक्त घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अभियोगपत्र दायर भएको छ।

त्यस्तै, ११ जनाविरुद्ध भने आपराधिक उपद्रवमा अभियोगपत्र दायर भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ।

चैत १५ गते राजसंस्था पक्षधरले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो। जसमध्ये एभिन्युज टेलिभिजनका क्यामरापर्सन सुरेश रजक र अर्का प्रदर्शनकारी सबिन महर्जन थिए।

त्यस्तै, निजी भवन, पार्टीका कार्यालय, भाटभटी सुपर मार्केट, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रका साथै सवारी सधानमा तोडफोड तथा आगजनी भएको थियो।