पाकिस्तानको पन्जाबमा आँधीबाट १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

पाकिस्तान सरकारले नागरिकलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिस घाइते भएका छन्। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो।

पीडीएमएका अनुसार मृतकहरू प्रायः माटो वा कमजोर संरचनाका घरमा बसोबास गर्थे। ती घरका पर्खाल वा छाना ढल्दा पुरिएर उनीहरूको मृत्यु भएको हो। पन्जाबमा हावाहुरी र असिनाका कारण रूख ढलेका छन् भने घरका पर्खाल भत्किनुका साथै सौर्य ऊर्जामा पनि क्षतिग्रस्त पुगेको छ।

साथै प्रतिकूल मौसम कारण प्रान्तभर यातायातमा व्यापक असर परेको छ। प्रहरीका अनुसार हावाहुरीको जोखिमका कारण मुख्य सडक बन्द गरिएको छ।

पन्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ। कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लाउँदा यात्रुहरू आतंकित भएका थिए। हावाको वेगका कारण चालकले जहाज विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए। अन्य धेरै उडानमा पनि अवरोध सिर्जना भएको थियो।

पीडीएमएले अझै केही दिन मौसम प्रतिकूल रहने सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ। सरकारले नागरिकलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ।