राष्ट्र बैंकले घटायो शेयर कर्जा जोखिम भार

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ। 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ।

राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको हो। यसअघि १२५ प्रतिशत कायम थियो।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरेको छ।

वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मध्यनजर गरी यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ।

यसैगरी राष्ट्र बैंकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी ब्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने भएको छ।