ईयूसँग करसम्बन्धी वार्ताको समयसीमा बढाउन ट्रम्प सहमत

गत शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।

काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू)सँग करसम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन्। उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमा यो जानकारी दिएका हुन्।

ट्रम्पले युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा जुलाई ९ सम्म बढाउन सहमत भएको बताएका छन्। यसअघि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि आइतबार ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएकी थिइन्।

"राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो। ईयू र अमेरिकाको संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापारिक सम्बन्ध छ। युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार छ। राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्म चाहिन्छ," उर्सुला भोन डेर लेयनले सामाजिक सञ्जाल एक्स मा लेखेकी छन्।

गत महिना, ट्रम्पले अधिकांश ईयू सामानहरूमा २० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। पछि, वार्ताको लागि समय दिँदै, जुलाई ८ सम्ममा भन्सार दर १० प्रतिशतमा घटाइएको थियो।

यद्यपि, शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिए। त्यसपछि अब वार्ताको समयसीमा बढाइएको खबर आएको छ।