गाजामा युद्धको असर : प्रयोगयोग्य कृषि भूमि ५ प्रतिशतभन्दा कम

युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।

तस्वीर : एफएओ

युद्धका कारण गाजा क्षेत्रमा केवल पाँच प्रतिशतभन्दा कम मात्र कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सोमबार जनाएको छ। यो अवस्था यस क्षेत्रका जनतामा खाद्य संकट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाउने संकेत हो।

अन्तर्राष्ट्रिय समुदायको आलोचनाका बीच इजरायलले हमासविरुद्ध गाजामा सैन्य कारबाहीलाई तीव्र बनाएको छ। झन्डै तीन महिनासम्मको नाकाबन्दीपछि इजरायलले गाजामा केही मात्रामा राहत सामग्री प्रवेश गर्न दिए पनि खाद्य र औषधिको अभाव कायमै छ।

एफएओको हालै सार्वजनिक गरिएको विश्लेषणअनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि क्षेत्र क्षतिग्रस्त भइसकेको थियो। अहिले जम्मा चार दशमलव ६ प्रतिशत खेतीयोग्य क्षेत्र मात्र प्रयोग गर्न सकिने अवस्थामा रहेको छ। हाल खेतीका लागि जम्मा ६८८ हेक्टर (झण्डै एक हजार ७०० एकड) भूमि मात्र बाँकी रहेको एफएओको भनाइ छ। 

दक्षिण गाजाको राफा क्षेत्र र केही उत्तरी भागमा अवस्था अझ गम्भीर रहेको एफएओको विश्लेषणमा उल्लेख गरिएको छ। अधिकांश कृषि भूमि अहिले प्रयोगमा ल्याउन असम्भवजस्तै भएको छ।

एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले भनिन्, “खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोत नष्ट भएपछि गाजामा स्थानीय उत्पादन पूर्ण रूपमा ठप्प भएको अवस्था छ।”

युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ मा युद्धविराम टुटेपछि हालसम्म कम्तीमा तीन हजार ७८५ जनाको ज्यान गएको छ। अहिलेसम्म यस यद्धमा ज्यान गुमाउनेको संख्या ५३ हजार ९३९ पुगेको छ, जसमा धेरैजसो सर्वसाधारण रहेका छन्।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए। सो आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो, जसमध्ये हाल ५७ जना गाजामा रहेका अनुमान गरिएको छ। इजरायली सेनाका अनुसार तीमध्ये ३४ जनाको मृत्यु भइसकेको छ।