मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ जना घाइते

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मकवानपुर– पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा परी हाल ठेगाना नखुलेका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रहरीका अनुसार सोमबार साँझ थाहा नगरपालिका–३ विद्युत् प्राधिकरणनजिकै त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थाना बजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बस सडकमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा खसेको थियो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमान्डमा खटिएको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको हो।

घाइतेमध्ये रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर रेफर गरिएको छ। त्यस्तै, बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का छेयाङ दोर्जे लामा र कोल्हवी नगरपालिका–१ का रामगुलाम चौधरीको पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बसचालक थाहा नगरपालिका–५ निवासी राजेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।