मकवानपुर बस दुर्घटना: मृतकको संख्या ३ पुग्यो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा र अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

मकवानपुर– त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। चार जना घाइते भएका छन्।

सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो।

दुर्घटनामा ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक दुई जनाको ठेगाना खुलेको छैन। 

दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।