नवलपरासीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर

टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीन जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ। उनीहरू एउटै मोटरसाइकलमा सवार थिए।

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। मंगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–५ मध्यविन्दु–७ का २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्।

दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए। गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ। टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ।