यसै साताको अन्त्यसम्म मनसुन नेपाल भित्रिने

नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ भए पनि वर्ष मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

काठमाडौँ– यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालमा प्रवेश गर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार बेलुका मनसुन आगमन अनुगमन बुलेटिन जारी गर्दै यसै साताको अन्तसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताएको हो।

“भूउपग्रहबाट प्राप्त बादलका तस्वीर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांकको विश्लेषणको आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भू-भागबाट प्रवेश हुने सम्भावना देखिएको छ” महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो। तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार मंगलबार भारतको आसामका केही भूभाग तथा भुटान र बांग्लादेशको पूर्व भूभागसम्म मनसुनको आगमन भइसकेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका थिए।  विभागले यस वर्ष गत वर्षभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष जेठ १८ गतेदेखि आगामी असोज १४ सम्म मनसुन अवधि हुने उल्लेख गर्दै गण्डकी तथा लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएका छन्।