अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार [तस्वीरहरू]

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।

तस्वीर: किरण कार्की/नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ।

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको हो। आरोही आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन्। आरोहण टोलीका साथै आन्तरिक पर्यटकको पनि आगमन शुरू भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए। 

समुन्द्र सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटक पनि आउने गर्छन्।

मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ। नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ। अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रंगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो।